काठमाडौं । रैथाने खानाको संरक्षण, प्रवर्द्धन र व्यावसायिक सम्भावनालाई उजागर गर्ने उद्देश्यले “रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम” शनिबार ककनीमा सम्पन्न भएको छ। ग्लोरी मिडिया र न्युजलाईन्स मिडियाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पाककला, पर्यटन तथा उद्यमशीलतासँग सम्बन्धित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा पाककला क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा अष्ट्रेलियामा कार्यरत प्रवासी सेफ सुवास थापालाई “पाककला गौरव सम्मान” प्रदान गरिएको थियो। साथै, विभिन्न क्षेत्रका योगदानकर्ताहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स–नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले रैथाने खानाको आर्थिक सम्भावनामा जोड दिँदै स्थानीय परिकारहरूलाई सही ढंगले ब्रान्डिङ गर्न सके अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धी बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले घरदेखि होटलसम्म रैथाने खानाको प्रयोग बढाउन सेफहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै यसले दीगो प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गर्नुभयो।
विशिष्ट अतिथि गैर आवासीय नेपाली संघकी पूर्व अध्यक्ष रविना थापाले प्राकृतिक र रैथाने खानाले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै आधुनिक जीवनशैलीका कारण बढ्दो अस्वस्थ खानाको विकल्पका रूपमा यस्ता परिकारलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्वस्तरमा चिनाउन आवश्यक रहेको उल्लेख गर्दै यसलाई केवल परिकार मात्र नभई नेपाली संस्कृति र पहिचानको अभिन्न अंगको रूपमा व्याख्या गर्नुभयो। उहाँले सञ्चारमाध्यमको सक्रियताले यस्तो अभियानलाई व्यापक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले नेपालको हिमाल, पहाड र तराईका फरक–फरक भूगोलमा पाइने परम्परागत खानाहरूले देशको सांस्कृतिक विविधता झल्काउने बताउँदै तिनको व्यवस्थित प्रवर्द्धन आवश्यक रहेको धारणा राख्नुभयो।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले रैथाने खानाको प्रवर्द्धनले स्थानीय उत्पादन र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले रैथाने खानाले आन्तरिक तथा बाह्य पर्यटनमा आकर्षण थप्ने उल्लेख गर्नुभयो।
युवा उद्यमी तारालाल धरेलले स्थानीय उत्पादनलाई आधुनिक प्रस्तुतीकरणसँग जोडेर नयाँ बजार सिर्जना गर्न सकिने अनुभव साझा गर्नुभयो भने रैथाने अभियन्ता तिलक ढकालले यस्ता खानाले स्वास्थ्यमा पुर्याउने फाइदाबारे प्रकाश पार्नुभयो।
न्युजलाईन्स मिडियाकी सरिता ढकालले रैथाने खाना तथा प्राकृतिक भोजनसम्बन्धी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै आगामी दिनमा थप कार्यक्रममार्फत जनचेतना विस्तार गरिने बताउनुभयो।
न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा वरिष्ठ सेफ मोहन गजुरेलले विभिन्न रैथाने परिकारहरूको आकर्षक प्रदर्शनी प्रस्तुत गर्नुभएको थियो। सहभागीहरूलाई प्राकृतिक तथा परम्परागत खानाको स्वाद चखाइएको कार्यक्रमले रैथाने खानाको महत्वप्रति थप जागरण ल्याएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रमलाई सफल बनाउँन एनएफपिजे नेपाल लगायतले सहकार्य गरेको थियो । यसअघि पनि यस्ता कार्यक्रमहरू मार्फत रैथाने खानाको प्रवर्द्धन, स्थानीय उत्पादनको उपयोग र पर्यटनसँगको अन्तरसम्बन्धबारे बहस हुँदै आएको छ। पछिल्ला वर्षहरूमा रैथाने खानाप्रति बढ्दो चासोले यसलाई व्यावसायिक रूपमै अघि बढाउने सम्भावना बलियो बन्दै गएको सरोकारवालाहरूको धारणा रहेको छ।
स्रोत न्यूज अभियान डट कम