काठमाडौं- खसीको पक्कु नेपालको परम्परागत र प्रसिद्ध मासु परिकार हो। यो विशेष गरी काठमाडौं उपत्यका र नेवार समुदायबाट प्रचलित भए पनि अहिले सम्पूर्ण नेपालभर लोकप्रिय छ।
दसैँ, तिहार, माघे संक्रान्ति जस्ता चाडपर्व, विवाह–भोज, देवाली र विशेष अवसरमा अनिवार्य रूपमा पकाइने परिकार हो। “पक्कु” शब्द नेवारी भाषाबाट आएको हो, जसको अर्थ ‘सुक्खा तर करी जस्तो मसालेदार मासु’ भन्ने हुन्छ।
विगत २३ वर्ष देखि होटल रेष्टुरादेखि विभिन्न कलेज सिटिईभिटिमा होटल व्यवस्थापन प्रशिक्षक लगायत नेपालका विभिन्न स्थानमा होमस्टे व्यवस्थापन प्रशिक्षण गराउँदै आएका वरिष्ठ सेफ मोहन बहादुर गजुरेलले यस परिकारलाई थप स्वादिष्ट बनाउनका लागि रेसिपीबारे आजको अर्थलाई जानकारी दिएका छन् ।
वरिष्ठ सेफ गजुरेल ग्लोवल नेपालीज सेफ फेडेरेसनका महासचिव एव सेफ एशोसिएसन अफ नेपालका आजिवन सदस्य हुन्।
हाल काभ्रेका ९ भन्दा बढी होटल व्यवस्थापन विषयको प्रयोगात्मक कक्षा संचालन गराउनुका साथै सुपरनोभा तालिम केन्द्र बनेपामा संचालन गरिरहेका उनले दसैँमा खसीको पक्कुले उमंग थप्नका लागि सहयोग पुग्ने बताए ।
खसीको पक्कु बनाउनका लागि आवश्यक सामग्रीहरू
खसीको मासु (हड्डीसहित वा हड्डिरहित टुक्रा) – १ किलो
तोरीको तेल – ३–४ चम्चा
अदुवा–लसुनको पेस्ट – २ चम्चा
बेसार – १र२ चम्चा
धनिया पाउडर – १ चम्चा
जिरा पाउडर – १ चम्चा
खुर्सानी पाउडर – स्वादअनुसार
नुन – स्वादअनुसार
गोलभेडा – २ वटा (पेस्ट वा काटेको)
प्याज – २ वटा (काटेको)
दालचिनी, इलाइची, तेजपात,ल्वाङग – ५-१० ग्राम
हरियो धनियाँ पात्ता सजावटका लागि
खसीको पक्कु बनाउने विधि
१. कसौंडी वा कराईमा तोरीको तेल तताएर दालचिनी, इलाइची,सुकुमेल,तेजपात हल्का ब्राउन हुने गरी भुट्नुहोस्।
२. काटेको प्याज हालेर सुनौलो रंग आउँदासम्म कडा आँचमा भुट्नुहोस्। त्यसपछि अदुवा–लसुनको पेस्ट मिसाउनुहोस्।
३. बेसार राख्ने र खसीको मासु टुक्रा हालेर उच्च तापमा राम्रोसँग चलाउँदै तेल छुट्टिने गरि भुट्ने ।
४. धनिया, जिरा र खुर्सानी पाउडर थपेर मसला राम्रोसँग चलाई रातो–ब्राउन रंग आउने गरी सानो आंचमा ४०–४५ मिनेटसम्म भुट्नुहोस्।
५. अन्तमा टमाटरको पेस्ट र नुन हालेर फेरि १५ मिनेट जति मध्यम आँचमा पकाउनुहोस्।
६. मासुको रस आफैं उमालिँदै सुक्खा र मसालेदार भएपछि ग्यास बन्द गर्नुहोस्। करिब १ घण्टा जतिमा पक्कु तयार हुन्छ ।
नोटः पहिले नै सम्पूर्ण धुलो मसलाहरू र तेललाई मासुमा मोलेर २ देखि ३ घण्टा जति राखेर पकाएमा पक्कु अझ स्वादिलो हुन्छ ।
पक्कु पकाउनुअघि जान्नैपर्ने कुराः पुरानो (केही दिन अघि काटेर फ्रिजमा राखेको) खसीको मासु स्वादिष्ट हुन्छ किनभने कसौंडी वा कराईमा लामो समय भुट्दा असल स्वाद आउँछ।
यसलाई तोरीको तेलमा पकाउँदा अझै परम्परागत सुगन्ध र स्वाद आउँने गजुरेल बताउँछन् ।
यसरी तयार गरिएको खसीको पक्कुलाई चिउरा, ढिडो, वा भातसँग खान सकिन्छ ।
Source : ajakoartha